June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सबै नेपालीलाई कोरोना खोप खरिद गर्न पुग्ने गरि सरकारद्वारा ५० अर्ब रुपियाँको कोष खडा

सबै नेपालीलाई कोरोना खोप खरिद गर्न पुग्ने गरि सरकारद्वारा ५० अर्ब रुपियाँको कोष खडा

नेपाल सरकारले सबै नेपाली नागरिकलाई खोप खरिद गर्न पुग्ने गरि बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । कोरोनाभाइरसविरुद्धको खोप भण्डारण गर्न आवश्यक पूर्वाधार नेपालसँग नरहेको अधिकारीहरूले बताइरहेका बेला सरकारले भने अध्यादेश ल्याएर खोप भित्रर्याउनको लागि कानुनी बाधा फुकाइसकेको बताउदै ५० अर्ब रुपियाँको कोष खडा गरेको हो ।


खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको शाखाले जानकारी दिएको छ ।कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको छ ।


अहिले कोरोनाभाइरसविरूद्ध निर्मित खोपको परीक्षणमा विश्वभरि महत्त्वपूर्ण प्रगति भएको देखिन्छ। एक दर्जन जति खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन्। विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।

तर अहिलेसम्म कुनै पनि खोपले डब्ल्यूएचओ वा कुनै देशको नियामक निकायबाट सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाइसकेको छैनन्।