June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोनाका कारण कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले कमी

कोरोनाका कारण कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले कमी

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यापार घाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकको नयाँ आँकडा अनुसार आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले कमी भएको छ । नयाँ आँकडा अनुसार २६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको आँकडाले देखाउँछ ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.० प्रतिशतले ह्रास आएको थियो । यस अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

सार्वजनिक रिपोर्ट अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ । नयाँ तथ्याङक अनुसार पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को तीन महिनामा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर २९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिनेमुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, खाने तेल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ । यो अवधिकमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।