June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु, जित सुनिश्चित रहेको दुवै पक्षको दाबी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु, जित सुनिश्चित रहेको दुवै पक्षको दाबी

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आज सुरु हुँदैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेर सकिदैछ । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन । अबको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित तीब्र प्रतिष्पर्धा हुनेछ ।


वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान दुवैले आफूहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् । ढकाल प्यानलमा जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोशियट उपाध्यक्षमा रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । प्रधान प्यालनमा जिल्ला÷नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ र एशोशियटमा सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।


दुवैको चुनावी एजेन्डा महासंघलाई बलियो बनाउने, आत्मनिर्भर हुनेगरी व्यवसाय विस्तारमा सहजीकरण गर्ने र उद्योग व्यवसायीको हितमा देश विदेशमा लबिङ गर्ने रहेको छ ।

महासंघको आगामी १३ गते हुने निर्वाचनका लागि तीन स्थान तय भएको छ । यस अघि तोकिएका तीन स्थानमा मतदान गराउने महासंघको निर्वाचन समितिले निर्णय गरेको छ । महासंघले महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरु गर्नै छ ।


शनिबार विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । सो निर्वाचन भने समूहगत रुपमा छुट्टाछुट्टै स्थान तोकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ ।
महासंघको निर्वाचनमा कोरोना संक्रमित मतदाताहरुले पनि मतदान गर्न पाउने भएका छन् । कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरुले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरु) त्यस्ता मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिएको छ ।