June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष

नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बढी भ्रष्ट रहेको खुलेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटरले नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष निकालेको हो । टीआईले गरेको विशेष सर्वेक्षणबाट प्रधानमन्त्री कार्यालय भ्रष्ट रहेको खुलेको हो । टीआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव खेमराज रेग्मीले प्रधानमन्त्री कार्यालय भ्रष्ट हुनु भनेको सिंगो सरकार नै भ्रष्ट रहनु भएको बताएका छन् । उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै भ्रष्ट रहेको स्पष्ट हुने बताए । यो रिसर्चले नेपालमा पछिल्लो एक वर्षमा भ्रष्टाचार बढेको समेत देखाएको छ । 

टीआईले ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२० मंगलबार सार्वजनिक गरेको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् । जनमतका आधारमा तयार गरिएको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’ प्रतिवेदनमा एसियाका देशहरुमध्ये नेपालमा भ्रष्टाचार बृद्धिको अवस्था खराब देखिएको छ ।

सर्वेक्षण अनुसार नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् । सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भनेका छन् । पछिल्लो एक बर्षमा सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । प्रतिवेदनमा सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् ।

४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् । विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको बताएका छन् ।

नेपालमा राष्ट्रपति तथा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको विश्वास गर्ने जनताको संख्या ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । स्थानीय तहका अधिकारी भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ । २९ प्रतिशत जनताले विगत एक वर्ष सार्वजनिक सेवा लिंदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनु पर्ने र राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्धता जनाउनु पर्ने भनिएको छ ।