June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

महासंघ बन्दसत्रमा एकले अर्कालाई समर्थन गर्न आग्रह

महासंघ बन्दसत्रमा एकले अर्कालाई समर्थन गर्न आग्रह

काठमाडौं– । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर शरु भएको नेपाल उद्योग वाणिज्य महासंघको आजको बन्दसत्रमा दुबै प्यानका उमेदवारले एकअर्कालाई आरोप लगाउन र खण्डन गर्नमा बढी केन्द्रित भएका छन् । बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका दुई उम्मेद्वारले एक अर्को पक्षले आफूलाई समर्थन गर्न आग्रह गरेका थिए ।


महासंघको निर्वाचनमा व्यवसायीहरु २ समूहमा विभाजन भएका छन् । एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को समूहको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका किशोर प्रधानले चन्द्र ढकाललाई यसपटक आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

महासंघको हुनलागेको निर्वाचनको बन्दसत्रमा बोल्दै उम्मेदवार प्रधानले अर्का सोही पदका प्रत्याशी चन्द्र ढकाललाई उक्त आग्रह गरेका हुन् । उनले भने, ‘म व्यवसायीको हिसाबमा दाइ हो, यो पटक मलाई छोडिदिनुहोस् ।’ उनले थपे, ‘तपाई ं(चन्द्र ढकाल)को पनि आवश्यकता भएको र अर्को पटक आउँदा राम्रो हुन्छ । त्यसकारण यसपटक मलाई छोडिदिनुहोस् ।’

उनले आफ्नो कुरा राख्ने क्रममा जिल्ला नगरको बाटो हुँदै आएको यहाँसम्म आएको बताए । साना व्यवसायी तथा जिल्ला नगरमा कस्तो समस्या हुन्छ भन्ने कुराको धेरै जानकार आफू रहेको प्रधानको दाबी छ । त्यो समस्या समाधान गर्नकै लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

अर्का महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्ने बताएका छन् । बन्द सत्रमा उनले भने, ‘कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।’

ढकालले अगाडि भने, ‘म यस संस्थाको नेतृत्वमा आएर आफ्नै भिजन र एजेण्डामार्फत महासंघलाई आमूल परिवर्तन गर्दै व्यवसायी साथीहरुको मनोबल उच्च बनाउने र देशमा उद्योगमैत्री तथा व्यवसायमैत्री वावतावरण बनाउन सक्छु, मसँग आफ्नै भिजन र एजेण्डा छन्, हामीलाई चाहिएको निजी क्षेत्रका एजेण्डा हुन जो हामीले बोकेका छौँ, आगामी दिनमा यी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

साधारणसभापछि स्वतः अध्यक्ष हुन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारकाले प्रधान समूहलाई समर्थन गरेका छन्। यसैगरी ढकाल समूहलाई महासंघका विशिष्ठ सदस्य तथा पूर्वअध्यक्ष चण्डीराज ढकालको सर्मथन रहेको छ ।

प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यसैगरी चन्द्रप्रसाद ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन्।

यसैगरी, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।


निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघको बन्दसत्र शुक्रबार सकिएको छ । शनिबार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचन बिहान ८ बजेदेखि शुरु हुनेछ ।