June 19, 2021, Saturday
५ असार २०७८, शनिबार

महासंघको निर्वाचन शुरु, तीन ठाउँबाट मतदान हुँदै

महासंघको निर्वाचन शुरु, तीन ठाउँबाट मतदान हुँदै

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन शुरु भएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि हुने निर्वाचन विहान ८ बजेबाट शुरु भएको हो ।


महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुने पनि पौडेलले बताए। यस्तै कोरोना संक्रमित मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

अन्तिम समयसम्म सहमतिको प्रयास गरिए पनि सफल हुन नसक्दा महासंघका ६४ पदमा निर्वाचन हुँदै छ । महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानले बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिई आआफ्ना प्यानल बनाएर चुनावी मैदानमा छन्।

महासंघको निर्वाचनमा कुल मतदान गर्न पाउने संघसंस्थाको संख्या ११४३ रहेको छ । जसमा जिल्ला नगरतर्फ १ सय ७ संघ, वस्तुगत तर्फ १ सय १, एसोसिएट तर्फ ९ सय २३ र द्विराष्ट्रियतर्फ १२ संघका प्रतिनिधि रहनेछन् । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि सबै संघ संस्थाका प्रतिनिधिले भोट दिन पाउने छन । अन्य पदका लागि भने सोहीतर्फका प्रतिनिधिले मात्रै भोट दिने पाउने छन् ।


साथै महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको मतलाई कुल मतको ५० प्रतिशत, वस्तुगततर्फको मतलाई २० र एसोसिएटतर्फको मतलाई ३० प्रतिशत मतभार कायम गरिएको छ । जसले सबैतर्फबाट गरी ५१ प्रतिशत मत पाउछन्, उनै वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन् ।

कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले दुई सदस्य निर्विरोध भएको घोषणा गरिसकेको छ। 


अध्यक्ष–शेखर गोल्छा (स्वत अध्यक्ष)
निर्वाचन हुने
वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)