June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

चालु आ.व.को तीन महिनामा जीवन बिमा कम्पनीको खुद नाफा १ अर्ब २६ करोड

चालु आ.व.को तीन महिनामा जीवन बिमा कम्पनीको खुद नाफा १ अर्ब २६ करोड

मंसिर , काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो तीन महिनामा जीवन बिमा कम्पनीहरूको खुद नाफा बढेको छ । १९ वटा जीवन बिमा कम्पनीले कोभिड महामारीका बीच पनि १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएका हुन् । हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४ दशमलव २९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । चालू आर्थिक वर्षमा त्योभन्दा २४ करोड ६७ लाख बढी खुद नाफा कमाएका छन् ।

बिमा कम्पनीको अधिकांश कोष बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा बसेको हुदा बैंकको ब्याजदर बढ्दा कम्पनीको नाफामा उल्लेख्य सुधार हुन्छ भने ब्याजदर घट्दा नाफा पनि खुम्चिने गरेको छ । कोरोना महामारीकै बिच अधिकांश जीवन बिमा कम्पनको नाफामा सुधार देखिएको छ। बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा पठाउन सक्ने व्यवस्था भएकाले बीमांकीय मूल्यांकनपछि नाफा थप बढ्ने कम्पनीहरूको भनाइ छ ।यसवर्ष पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा गर्ने जीवन बिमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छ ।

नेपाल लाइफले १२ प्रतिशलते नाफामा सुधार गरेर २२ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा यस वर्ष प्राइम लाइफ इन्स्योरेन्स छ । प्राइम लाइफले १२ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै तेस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै चौथो स्थानमा सूर्या लाइफले १० करोड १६ लाख खुद नाफा कमाएको छ । पाँचौं नम्बरमा रहेको एशियन लाइफले भने ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बीमा कम्पनीको नाफा औसतमा करीब २५ प्रतिशतले बढ्दा पनि केही कम्पनीले भने यस अवधिमा घाटा व्यहोर्नु परेको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको यस अवधिमा ३ करोड ५० रुपैयाँ लाख नाफा कमाएको सन नेपालले अहिले २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यस अवधिमा ५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको युनियन लाइफले अहिले २ करोड ४१ लाख कमाएको छ । यस्तै गत आर्थिक वर्षको यस अवधिमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय बीमा संस्थानले अहिले १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको नाफासँगै जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि बढेको छ । कम्पनीहरूको वित्तीय विवरणहरूअनुसार पहिलो तीन महिनामा ३२ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमास २४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन भएको थियो । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, एलआईसी नेपालले ५ अर्ब ५ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेशनल लाइफले २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।