June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सरकारी कर्मचारीले सरकारी स्रोत तथा वैदेशिकऋणको प्रयोग गरेर वैदेशिक भ्रमण गर्न नपाउने

सरकारी कर्मचारीले सरकारी स्रोत तथा वैदेशिकऋणको प्रयोग गरेर वैदेशिक भ्रमण गर्न नपाउने

१४ मंसिर, काठमाण्डौ ।


सरकारी कर्मचारीले अबदेखि सरकारी स्रोत र वैदेशिक ऋणको प्रयोग गरेर वैदेशिक अवलोकन, तालिम तथा अध्ययन भ्रमणमा जान नपाउने निर्णय भएको छ । नेपाल सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७’ ल्याउँदै यस्तो व्यवस्था गरेको हो।


मापदण्डमा भनिएको छ, “नेपाल सरकारको स्रोत वा वैदेशिक ऋणबाट खर्च व्यहोरिने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन गरिने छैन,”।“तर द्विपक्षीय तथा बहुपक्षीय वार्ता, अन्तर्राष्ट्रिय संगठनबाट आयोजना हुने बैठकमा मुलुकको प्रतिनिधित्व हुनुपर्ने विषय एवं कुनै अत्यावश्यक कामको लागि वैदेशिक भ्रमणमा मनोनयन गर्नु परेमा अर्थ मन्त्रालयको पूर्व सहमतिमा मात्र मनोनयन गर्नु पर्नेछ।”


मापदण्डको बुँदा ५ मा विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा वैदेशिक भ्रमण गर्दा नेपाल सरकारको स्रोतको उपयोग गर्न नपाइने स्पष्ट पारिएको छ । तर, द्विपक्षीय तथा बहुपक्षीय वार्ता, अन्तर्राष्ट्रिय संगठनबाट आयोजना हुने बैठकमा मुलुकको प्रतिनिधित्व हुनुपर्ने विषय एवं कुनै अत्यावश्यक कामको लागि वैदेशिक भ्रमणमा मनोनयन गर्नुपरेमा अर्थ मन्त्रालयको पूर्वसहमतिमा मात्र मनोनयन गर्नुपर्नेछ । सार्वजनिक निकायको पदाधिकारीले आयोजनासम्बद्ध निर्माण व्यवसायी वा परामर्शदाताको खर्चमा पनि विदेश भ्रमण गर्न नपाउने व्यवस्था राजपत्रमा जारी सूचनामा उल्लेख गरिएको छ ।


कोरोनाको कारण अर्थतन्त्र थिलोथिलो भएको बेला अर्थतन्त्रको पुनरुत्थान गर्न, अनिवार्य दायित्व व्यवस्थापन गर्न तथा निर्माणाधीन आयोजनाहरुलाई निरन्तरता दिँदै सार्वजनिक खर्चलाई थप मितव्ययी एवं नतिजामुखी बनाउन पैसाको जोहो गर्नका लागि सरकारले खर्चमा मितव्ययिता कायम गर्ने मापदण्ड बनाएको हो ।