June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सेयर बजारमा अर्को रेकर्डः एकैदिन ९ अर्ब बढीको कारोबार

सेयर बजारमा अर्को रेकर्डः एकैदिन ९ अर्ब बढीको कारोबार

१४ मंसिर, काठमाण्डौ ।


दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब बढीको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको छ । नेप्सेको यो हालसम्मकै उच्च विन्दु हो । गत बिहीबारमा मात्रै परिसूचक १८९३ अंकमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । तर उक्त कीर्तिमानलाई आजको बजारले तोडेको छ ।

यसैगरी आजको दिन ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको छ । एकैदिन यति ठूलो रकमको सेयर कारोबार भएको समेत आज पहिलोपटक हो । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड कायम भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयर घटेको छ ।

आज ३.९६ प्रतिशतले बजार बढेको हो । आज २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच हुँदा कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको हो । सेयर बजारमा उछाल आएको दिन आज व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् भने बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन्।


नेप्सेका अनुसार निर्जीवन बीमा समूह २४५.७५ अंक, विकास बैंक समूह १७३.८४ अंक र बैंकिङ समूह ११२.३२ अंकले बढेको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । पुनर्बीमा कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार ८ सय ३७ रुपियाँ बराबरको सेयर किनबेच भएको हो ।

नेपाल पुनर्बीमा पछि सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ । उक्त कम्पनीले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि आइतवार कारोबार रकम बढेको हो ।