June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एकैदिन देशभर ३ सय ९६ आधारभूत अस्पताल शिलान्यास गर्दै सरकार

एकैदिन देशभर ३ सय ९६ आधारभूत अस्पताल शिलान्यास गर्दै सरकार

मंसिर १५, काठमाडौं ।
सरकारले सोमबार एकैसाथ ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको छ । ग्रामीण क्षेत्रका नागरिकमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यसहित सातै प्रदेशमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल बनाउन लागेको हो । अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको र उक्त अस्पताल दुई वर्षभित्रै सञ्चालनमा ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए ।

अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सम्बन्धित क्षेत्रका सांसद र स्थानीय तहका प्रमुखले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनको संकेतको रुपमा व्याख्या गरेको छ । पाँच शय्याका ५२, १० शय्याका १ सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइने भएको छ । अस्पताल भवन निर्माणका लागि यो वर्ष सरकारले ६ अर्ब १२ करोड २६ लाख निकासा गरेको छ । अस्पताल निर्माण र उपकरण जडान गर्दा ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछ । त्यसैगरी, लुम्बिनी प्रदेशमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमती प्रदेशमा ५१ र कर्णालीमा ४२ वटा स्थानीय तहमा अस्पताल बनाइने छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आधारभूत अस्पताल शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालका अनुसार संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन ।

आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । ५ शय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् ।