June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेकपा सचिवालय बैठकमा ओली–दाहालबीच चर्काचर्की, विवाद झन् गहिरिँदै

नेकपा सचिवालय बैठकमा ओली–दाहालबीच चर्काचर्की, विवाद झन् गहिरिँदै

मंसिर १६, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच चर्काचर्की भएपछि पार्टी भित्रको विवाद झन् गहिरिँदै गएको छ । दुवै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल अघि बढाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको सुरुमै ओली र दाहालबीच भनाभन भएको हो ।

मंसिर १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको लिखित जवाफसहित ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । ओलीले प्रस्ताव पेश गरेपछि नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक आज दिउँसो १ बजेका लागि बोलाउने पूर्व निर्णय भएको थियो । तर सुरक्षा निकायले धुम्बाराहीमा प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट रहेको ब्रिफिङ गरेको भन्दै बैठक बालुवाटारमा बसेको हो ।

बैठकको शुरुवातमै प्रधानमन्त्री ओलीले बैठकमा प्रस्तावहरुमाथि छलफल गर्नुको कुनै औचित्य नभएको बताए । उनले दाहालले पेश गरेको प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने भनेपछि बैठकमा चर्काचर्की भएको एक सचिवालय सदस्यले बताए । दाहालले ओलीलाई जवाफ दिँदै बैठकले गर्ने निर्णय नै सबैका लागि स्वीकार्य हुने भन्दै प्रस्तावमाथि छलफल गरेरै अघि बढ्नुपर्ने बताएका थिए । ओलीले बैठक छल्न खोजेको आरोप लगाउँदै प्रचण्डले कोही पनि त्यहाँबाट भागेर जान नसक्ने मत राखेका थिए । नौ सचिवालय सदस्यमध्ये प्रचण्डसहित पाँचजना कुनै पनि हालतमा बैठक बसेरै निकासतर्फ जानुपर्ने अडानमा छन् । उनीहरुले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर समस्याको समाधान गर्न सकिने मत राखेका छन् ।

स्रोतका अनुसार मंगलबारको बैठकमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले पनि बैठकबाट छलफल गरेर निकास निकाल्न दुई अध्यक्षलाई आग्रह गरेका थिए । आजको बैठककमा महासचिव विष्णुप्रसाद पौडेलले भने ओलीको भनाइको प्रतिरक्षा गरेका थिए । पार्टी कमिटीमा आफू अल्पमतमा परेपछि ओली यतिखेर २६ भदौमा स्थायी कमिटी बैठकले गरेको निर्णयमै फर्किन खोजिरहेका छन् । तर, दाहाल–नेपाल समूह भने अब पार्टी कमिटीका बैठकले जे निर्णय गर्छ त्यसैअुनुसार अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

आज बसेको सचिवालय बैठकले पार्टीका दुवै अध्यक्षले पेश गरेको प्रस्तावमाथि औपचारिक र अनौपचारिक दुवै किसिमको छलफल अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ ।