June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

बैंकहरुको कर्जा प्रवाह बढ्दै, दोस्रो सातामै १४ अर्ब कर्जा प्रवाह

बैंकहरुको कर्जा प्रवाह बढ्दै, दोस्रो सातामै १४ अर्ब कर्जा प्रवाह

मंसिर १७, काठमाडौं ।
पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह बढ्न थालेको छ । मङ्सिरको दोस्रो सातामा कर्जा प्रवाह १४ अर्ब रुपैयाँले बढेको हो । कोरोना भाइरसको महामारीले गर्दा बैंकहरुमा बढ्दै गएको तरलता दशैंतिहारजस्ता प्रमुख चाडपर्व सकिएसँगै कर्जा प्रवाह बढ्न थालेको हो ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाहरुले ३० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । संचालनमा रहेका २७ वाणिज्य बैंकले १ महिनामा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै वाणिज्य बैंकहरुले मंसिर दोस्रो सातासम्म ३६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

कात्तिक दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको दोस्रो साता ४२ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको हो । कोभिडले गर्दा सीमित क्षेत्रमा मात्र कर्जा प्रवाह भएकोमा अहिले विभिन्न निर्माण क्षेत्र र जलविद्युतका जस्ता पूर्वाधारहरूको निर्माण कार्य तीव्र भएकाले उक्त क्षेत्रमा समेत कर्जा प्रवाह हुँदा समग्रमा कर्जा प्रवाह बढेको बैंकरहरू बताउँछन् ।

कात्तिक दोस्रो सातामा ३० खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । मंसिरको दोस्रो साता ४६ अर्ब रुपैयाँले बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको हो । गत साउनमा कर्जा लगानी संकुचनमा आएर २८ खर्ब ७८ अर्ब रुपैयाँमा सीमित थियो । यसपछि भदौमा थप २६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भयो ।

कोरोना भाइरसको प्रभावले बजारमा अपेक्षा गरेअनुसारको कर्जा माग नहुँदा बैकहरुमा रु. २ खर्बभन्दा बढी तरलता थुप्रिएको थियो । तर पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदै जाँदा अहिले भने थोरै घटेर १ खर्ब ८० अर्बको अधिक तरलता रहेको नेपाल बैंकर्स संघले जनाएको छ । तर, अझै पनि बैंक तथा वित्तीय संस्थामा तरलता अधिक नै भएको भन्दै निक्षेपको व्याजदर कटौती गर्दै आएका छन् ।