June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अलपत्र योजनाहरु अझै अलपत्र बन्दै, सरकार नै स्रोत अभाव देखाउँदै म्याद थप्ने तरखरमा

अलपत्र योजनाहरु अझै अलपत्र बन्दै, सरकार नै स्रोत अभाव देखाउँदै म्याद थप्ने तरखरमा

मन्त्रीमा नियुक्त हुने वित्रिकै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अलपत्र योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाए । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयका कामको अवस्था बुझेर रोकिएको योजनाहरु अघि बढाउने बताएका थिए । मन्त्रीले शपथपछि गरेका बाचा यतिखेर हराएका छन् । यतिखेर झण्डै ६ हजारभन्दा बढी पूर्वाधारका आयोजनामा सम्झौता अनुसार काम भएका छैनन् । कान नहुँदा पनि सरकारले कारवाही गर्न सकेको छैन । बरु सरकार नै स्रोत अभावका कारण ठेकेदारकै पक्षमा म्याद थप्ने तरखरमा लागेको छ ।


सबै आयोजनालाई एकैपटक बजेट दिन नसकिने भएकाले सरकार नै आयोजना लम्ब्याउने पक्षमा देखिएको छ । क्षमताभन्दा बढी ठेक्का हत्याएर काम नगर्ने ठेकेदारलाई सरकारले जिम्मेवार बनाउन नसकेकाले पूर्वाधारका अधिकांश आयोजना अलपत्र परेका हुन् । आयोजना अलपत्र पार्नेकै पक्षमा राजनैतिक पहँचको आधारमा निर्णय गरिए विकासका काम रोकिने स्पष्ट छ ।

क्षमताभन्दा बढी ठेक्का ओगट्ने र पेश्की रकम लिएर काम अलपत्र पार्ने ठेकेदारहरुको पुरानै रोग हो । सरकारले लकडाउनमा काम हुन नसकेका आयोजनाको म्याद असार मसान्तमा ६ महिना थपेको थियो । ठेकेदारले विभागीयमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई दबाब दिएपछि भौतिक पूर्वाधार र अर्थ मन्त्रालय अहिले छलफलमा छन् । यो आर्थिक वर्षभित्र काम पूरा हुनेको थपेर बाँकीलाई थााति राख्ने विषयमा छलफल केन्द्रीत छ ।


पथलैया वीरगन्ज व्यापारिक मार्ग निर्माणका लागि सात वटा ठेक्का लगाइएकामा ६ वटा ठेक्का सम्झौताको म्याद सकिएको छ । तर काम भने सकिएको छैन । ३५ प्रतिशत अझै बााकी छ । २०७३ असार २९ मा सुरु गरेको काम दुई वर्षमै सक्ने योजना थियो । तर ठेकेदारले सम्झौता अनुसार काम गरेनन् । ३१ किलोमिटर सडक कालोपत्र र १० वटा पुल बनाउनुपर्ने यो आयोजनामा ५ अर्ब ६४ करोड बजेटमध्ये ३ अर्ब २९ करोड खर्च भइसकेको छ । बाँकी काम सम्पन्न गर्नका लागि आयोजनाले म्याद थपको पत्र सडक विभागमा पठाएको छ ।

कालिगण्डकी करिडोरमा २ वटा पुल निर्माणका लागि दिइएको ठेक्काको म्याद सकिएपनि ६० प्रतिशत काम बााकी छ । ठेकेदारले भने म्याद सकिएपछि काम गरेको छैन । ५६ करोड लागतको जोरपाटी सुन्दरीजल सडक खण्डमा ठेकेदारसागको सम्झौता पुसमा सकिंदैछ । तर ६० प्रतिशतभन्दा काम भएको छैन ।

ठेकेदार कम्पनी भने बाँकी काम गर्नेभन्दा म्याद थपका लागि दौडधुप गरिरहेको छ । म्याद सकिएर तथा सकिन लागेकाले काम ठप्प रहेका पूर्वाधारका ६ हजारभन्दा बढी आयोजना छन् । तोकिएको समयभित्र काम नसके सम्झौता अनुसारको रकम भुक्तानी हुँदैन । यसअघि पनि काममा लापर्वाही गर्दै आएका ठेकेदारले अहिले महामारीलाई बहानाबाजी बनाएका छन् । उनीहरुले अहिले म्याद एक वर्ष थप्न लबिङ गरिरहेका छन् ।