June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी न.पा.बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र चौरजहारी न.पा.बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

पूर्व गृह र उर्जा तथा जलस्रोत मन्त्री तथा संघीय संसदका सांसद माननीय जर्नादन शर्माको समुपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चौरजहारी नगरपालिका, रुकुम (पश्चिम) जिल्ला बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त कृषकहरुको ५–५ जनाको समुह बनाई सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ । नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समुहलाई अधिकतम दश लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा माननीय जर्नादन शर्माले देश स्रोत साधनमा धनि हुँदाहुदै पर्याप्त परिचालन नभएकाले गरिबीमा बस्नु परेको हुँदा यो कर्जाले स्रोत साधनको परिचालनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले विदेशीका धेरै विकासका मोडल देखेको तर नेपालको माटो सुहाउँदो आर्थिक मोडलको रुपमा सहुलियतपूर्ण कर्जा बन्न सक्ने बताउनुभयो ।