June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सरकारले नवप्रवर्तकलाई २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिने

सरकारले नवप्रवर्तकलाई २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिने

मंसिर १८, काठमाडौं ।
सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएका आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पूँजी उपलब्ध गराउन सरकारले यस्तो कार्यविधि जारी गरेको हो ।

उक्त कार्यविधिअनुसार नवीन सोचसहितको उद्यम गर्ने र आविष्कारकर्ताले २ प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा आवश्यक लगानीयोग्य पुँजी जुटाउन लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकलाई कर्जा प्रदान गर्ने व्यवस्था कार्यविधिमा छ । यसअघि यस्तै खालको व्यवसायलाई अनुदान दिन कार्यविधि तयार पारे पनि त्यसलाई खारेज गरेर मन्त्रिपरिषद्ले नयाँ कार्यविधि स्वीकृत गरेको हो ।

अर्थ मन्त्रालयले प्रस्ताव गरी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधि अनुसार कर्जा प्रवाह सम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ । समितिले उद्योग, कृषि, उर्जा, स्वास्थ्य, पर्यटन , शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविस्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव गर्नेछ । प्रस्ताव छनोटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य संयोजक रहेको प्रस्ताव मूल्यांकन उपसमिति रहने व्यवस्था छ ।

त्यस्तै समितिले प्रस्तावको छनौट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनौट गरिने प्रस्तावको संख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविस्कारकर्ता, उद्यमी वा व्यावसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने कार्य गर्नेछ । छनोट भएका प्रस्तावक आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पुँजीका लागि प्रदान गर्ने भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत २ प्रतिशत व्याजदरमा कर्जास्वरूप उपलब्ध गराइनेछ ।

कर्जा प्रदान गर्दा प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावको आधारमा कुल लागतको बढीमा ५० प्रतिशतमा नबढ्ने गरी अधिकतम ५० लाख रुपैयाँ रकम नवप्रवर्तन सुरुवाती पुँजीका रूपमा कर्जा उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख छ । कर्जा स्वीकृत गर्दा बैंकले आविस्कार कर्ता, उद्यमी वा व्यवसायीको जमानी, व्यावसायिक कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोको रुपमा लिन सक्नेछन् ।

कार्यविधिमा कर्जाको अन्तिम किस्ता बापतको रकम प्राप्त गरेको एक वर्षभित्र कर्जा सम्झौतामा उल्लेख भए बमोजिम साँबा भुत्तानीको किस्ता बुझाउने अवधि सुरु हुने र साँबा चुक्ताको किस्ता बुझाउने अवधि प्रारम्भ भएको ४ वर्षभित्र कर्जा साँवाको सम्पूर्ण किस्ता र व्याज समेत चुक्ता गरिसक्नु पर्ने व्यावस्था छ ।