June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने

वैदेशिक रोजगारीमा जाने श्रमिकले बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट समेत भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने योजनाबमोजिम भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष र बीमाको रकम ईसेवाबाट भुक्तानी गर्न सकिने सेवाको शुरूआत भएको हो । ईसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको ईसेवामार्फत भुक्तानी गर्न सकिन्छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्ना साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले ईसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

म्यानपावरमार्फत वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि कल्याणकारी कोषमा एकमुष्ट रकम बुझाउन सक्ने बताइएको छ, जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि ईसेवाबाट रकम बुझाउन सकिनेछ । ईसेवाबाट सीधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो । रासस