June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा दोहोरो प्रकृतीका कर खारेज गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा दोहोरो प्रकृतीका कर खारेज गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । उनिहरुले हिजो बुधबार मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेर संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले खारेजीको माग गरेका हुन्।

महासंघका अध्यक्ष शेखर गोल्छाले दुई सरकारबाट कर असुली गर्नु कानुनविपरीत भएको तथा प्रदेशहरुमा लाग्ने विभिन्न करले गर्दा निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । उनले देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि अध्यक्ष बताउँदै त्यसका लागि कुन कुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिने जानकारी दिए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेकाले त्यस तर्फ ध्यान दिन माग गरे। यस्तै रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउदै निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए।