June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआई र सीएनआईले सहकार्य गर्ने

निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआई र सीएनआईले सहकार्य गर्ने

काठमाडौं । निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले सहकार्य गर्ने भएका छन् । सीएनआईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष शतिस मोरले निजी क्षेत्रका दुई संस्थाबीच विगतदेखि नै सहकार्य रहँदै आएको उल्लेख गर्दै त्यसलाई थप सुदृढ बनाउने बताए ।


महासंघका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मोरले, “निजी क्षेत्रको समस्या समाधान गर्न एफएनसीसीआईको नयाँ कार्यसमितिसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता हो ।”


मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या हटाउन संयुक्त प्रयास गर्न सके औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए । एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा परिसंघको तर्फबाट परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित उपाध्यक्षहरु सुलभ अग्रवाल, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल र विरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएका थिए ।