June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ९ अर्बको चामल आयात

चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ९ अर्बको चामल आयात

मंसिर १९, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा करिब साढे ९ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म नेपालमा उक्त रकम बराबरको चामल आयत भएको हो । यो आयात विगतको तुलनामा करिब डेढ गुणा बढी हो । गतवर्ष यही अवधिमा ४ अर्ब ९० करोडको चामल आयात भएको थियो ।

यो अवधिमा १ लाख ९८ हजार मेट्रिक टन अर्थात् १९ करोड ८३ लाख किलो चामल आयात भएको छ । गत वर्ष कात्तिकसम्म भारतबाट ९० हजार मेट्रिक टन चामल आयात भएको थियो । यो वर्ष भन्सार विभागले चामलबाट ९० करोड भन्सार राजस्व असुल गरिसकेको छ । गतवर्ष यही अवधिमा ३९ करोड रुपैयाँ भन्सार असुल भएको थियो ।

गत साउनयता कात्तिकसम्म चार महीनामा देशमा रु.१३ अर्ब ५८ करोडको धान–चामल आयात भएको थियो । नेपालीको भान्छामा भातको माग बढेसँगै हरेक वर्ष विदेशबाट धान–चामलको आयात बढ्दो छ । यस्तै आर्थिक वर्ष २०७६÷७७ मा झण्डै ३३ अर्ब रुपैयाँ बराबरको धान र चामल आयातको थियो ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार, वि.सं. २०१८ मा नेपालमा एक हेक्टर खेतमा १.९ मेट्रिक टन धान फल्थ्यो । ६० वर्षपछि अहिले त्यो करीब दोब्बर भएको छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर करीब ३.८ मेट्रिक टन पुगेको छ ।

देशमा जनसंख्या वृद्धिको अनुपातमा धानको उत्पादन नबढेको र बढिरहेको चामलको माग थेग्न आयातमा भर परिरहनुपरेको देखिन्छ । यस्तै वैदेशिक रोजगारीबाट आर्जित रेमिटेन्सका कारण नागरिकको क्रयशक्ति बढ्दा पनि मसिनो र बास्नादार चामलको माग बढेको कारणले आयातमा दबाब थपिरहेको छ ।