June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

बैदेशिक मुद्राकोषमा ११ अर्ब ७५ करोड डलर सञ्चिती, आगामी १५ महिनाको आयात धान्न सक्ने

बैदेशिक मुद्राकोषमा ११ अर्ब ७५ करोड डलर सञ्चिती, आगामी १५ महिनाको आयात धान्न सक्ने

मंसिर २१, काठमाडौं ।
कोरोना संक्रमणका कारण विश्वको अधिकांश देशको आर्थिक वृद्धिदर ऋणात्मक छ । बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको लगानी लगानीको बिकल्प नपाएर ऋणात्मक क्षेत्रमा लगानी हुँन थालेको छ । व्यवसायीहरुको अनुसार ९० प्रतिशत उद्योगहरु बन्द वा सीमित क्षमतामा चलेका छन् । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ ।


हाल राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिती वृद्धि भएर कुल १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । शुक्रबारको डलरको दररेट अनुसार यो रकम करिब ११ अर्ब ७५ करोड हुन आउँछ । अब यसले आगामी १५ महिनाको आयात धान्ने राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना संक्रमणका कारण विदेशी मुद्राको संचिती बढेको बताए । उनले अर्थतन्त्रमा राष्ट्र बैंकले हाल गरेको वैदेशिक मुद्रा सञ्चिती इतिहासकै बढी भएको बताए । उनले भने, –‘वैदेशिक मुद्रा भण्डारण बढेको फाइदा यहाँका ऋणीले पाउने अवस्था आएको छ ।’


विगतका वर्षमा राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिती कमजोर हुँदै आएको थियो । हाल विदेशबाट आउने विभिन्न वस्तुको आयात घटेर यहाँबाट पठाउने समानको निर्यात बढेकाले विदेशी मुद्राको सञ्चिती बढेको भट्टले जनाए ।


राष्ट्र बैंकका अनुसार हाल मुलुकको आयात घटेसँगै चालु आवको पहिलो त्रैमासमा विदेशी मुद्रा सञ्चिती ४ दशमलव ९ प्रतिशतले बढेको छ । असोजसम्म विदेशी मुद्रा सञ्चिती बढेर १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिती १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिती गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा असोज मसान्तसम्म आइपुग्दा ७ दशमलव ८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड पुगेको छ ।


कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकामा गत असोज मसान्तमा ५ दशमलव १ प्रतिशतले वृद्धि भई १२ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि जारी गरेको ‘मौद्रिक नीति’को समीक्षाले अब डलरमा ऋण लिएकालाई नेपाली रुपैयाँमा तिर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरिदिएको छ ।


यसैगरी, कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३ दशमलव १ प्रतिशत छ । तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५ दशमलव रहेको छ । यसले आगामी ६ महिनाका लागि वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । गत १० मंसिरमा राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको बितेका ४ महिना (कात्तिक मसान्तसम्म)को तथ्यांकले यस्तो देखाएको हो ।


अहिले वाणिज्य बैंकले ९८ अर्ब रुपैयाँ विदेशी मुद्रा ऋण दिएका छन् । यस्तो प्रावधान विशेष गरी पर्यटकीय होटल र वायुसेवामा लागू भइरहेको थियो । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पनि पर्यटकीय होटल र वायुसेवा प्रदायक कम्पनीहरू नै छन् । त्यसैले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत उनीहरूलाई केही सहजीकरण गर्न खोजेको देखिन्छ । यसले अब बैंक र व्यवसायी दुवैलाई राहत पुग्ने देखिन्छ ।


राष्ट्र बैंकका अनुसार अब अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न सकिने छ । समग्रमा राष्ट्र बैंकले गरेको समीक्षा तथा आगामी वित्तीय उपाय सकारात्मक भएको नेपाल बैंकर्स संघले जनाएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिती अहिलेसम्मकै सबैभन्दा बढी भएकाले यो कदम चालेको हो ।