April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

साझा प्रकाशनको २४ औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् ।

साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४ सय १२ मतसहित विजयी भएको र उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १ सय ८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए ।

यही पुस २१ देखि २४ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो ।

सुब्बा र कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । भाषा-साहित्यको क्षेत्रमा ऐतिहासिक मानिने सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो । निर्वाचित पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ ।

निर्वाचित भएपछि रासससँग कुरा गर्दै अध्यक्ष सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गरे ।

कुल १ हजार ४ सय ५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६ सय ४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनको सञ्चालक सदस्यमा यसअघि हरि भण्डारी, डीपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो । रासस