होटल क्षेत्रमा बैंकको ११ अर्ब ९५ करोड रुपैयाँ लगानी

होटल क्षेत्रमा बैंकको ११ अर्ब ९५ करोड रुपैयाँ लगानी

फागुन १०, काठमाडौं ।
कोरोना महामारीकै क्रममा होटल क्षेत्रमा हुने बैंक तथा वित्तीय संस्थाको लगानी बढेको छ । आर्थिक वर्षको साउन देखि पुस महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुले होटल क्षेत्रमा ११ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १० प्रतिशतले बढी हो ।

गत वर्ष यहि अवधिमा बैंक तथा वित्तीय संस्थाले होटल क्षेत्रमा १० अर्ब ४१ करोड लगानी गरेका थिए । कोरोना भाइरसको महामारीसँगै मुलुकमा सुरु भएको ‘लकडाउन’ यता बन्द रहेका कतिपय होटल अझै सञ्चालन हुन सकेका छैनन् । यस्तै कत्तिपय ठुला होटलहरु अनिश्चिकालका लागि बन्द समेत भएका छन् । नेपालमा पर्यटक स्तरीय तथा तारे होटल संख्या ३ हजार ३ सयभन्दा बढी छ । करोडौं लगानीका होटल बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारी र मजदुर पनि मारमा परेका छन् ।

होटलले मात्र २ लाख बढीलाई रोजगारी दिएको सरकारी आँकडा छ । तर यसको यकिन तथ्यांक सरकारसँग छैन । कोरोनाको कारण प्रभावित भएको होटल क्षेत्रमा नयाँ पूर्वाधार निर्माण सुरु भएको भन्दा पनि पुरानै आयोजना, सञ्चालनमा रहेका होटलहरुले सञ्चालन खर्च चलाउनका लागि लिएको ऋणमा बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । तर पछिल्लो समय आन्तरिक पर्यटन लयमा फर्किन थालेसँगै मध्यमस्तरीय होटलहरुले राम्रो व्यापार गरेको तर ठूला र साना होटल अझै समस्यामा रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

कोरोना कहरमा कतिपय होटल सञ्चालकहरुले पेशा नै परिवर्तन गरे भने केही व्यवसायीहरु यसैमा भविष्य देख्दै लगानी गरिरहेका छन् । वाह्यसँगै आन्तरिक पर्यटकहरूको चाप अनुपात कारण लगानीकर्ताहरू होटल व्यवसायमा आकर्षित भएका थिए । तराईका जिल्लामा मात्रै होइन, पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वात्तै बढेको थियो । यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पु¥याउँदै आएकोमा कोरोनाका कारण गति नै रोकिएको होटल व्यासायिहरुको भनाइ रहेको छ । पछिल्ला समय यो व्यवसायलाई पर्यटन प्रवर्द्धनसँग जोडेर लान थालिएकाले स्थानीय स्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने क्रममा रहेको थियो ।