निर्वाचन आयोगले करिब २५ करोडको निर्वाचन सामग्री खरिद गर्दै

निर्वाचन आयोगले करिब २५ करोडको निर्वाचन सामग्री खरिद गर्दै

फागुन ११, काठमाडौं ।
निर्वाचन आयोगले करिब २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव तोकेको छ । आयोगले तोकिएको चुनावका लागि आवश्यक बजेट तर्जुमा गरेर पठाएपछि अर्थ मन्त्रालयले ७ अर्ब रकम छुट्याइसकेको छ ।

आयोगले निर्वाचनको तयारी एवं व्यवस्थापनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार माग गरेको थियो । बोलपत्रदाताहरुले आयोगबाट फागुन ११ गतेदेखि १७ गतेका बीच कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइसक्नु पर्ने आयोगले जनाएको छ ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो