प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई आज सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’को पेसीमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई आज सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’को पेसीमा


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा राखेको छ । मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा छ ।

फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्नसक्ने भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका छन् । यो मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ ।बहस सकेपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए ।

यसअघि सोही इजलासमा मुद्दाको सुनुवाइ सकिएको छ । मुद्दाको पक्ष, विपक्ष र अदालतका सहयोगी ‘एमिकस क्युरी’ ले बहस गरिसकेका छन् । बहस नोटलाई केही दिन अध्ययन गर्नुपर्ने भनिएको छ । त्यसपछि इजलासले मुद्दाको निर्णय गर्ने छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड पक्षसँगै विभिन्न वकिलहरूले विघटनविरुद्ध मुद्दा दर्ता गराएका थिए । मुद्दा पक्षबाट बहस गरेका वकिलहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको विपक्षका वकिलहरुले संवैधानिक भएको जिकिर गरेका छन् । एमिकस क्युरीका पाँचजनामध्ये चार जनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।