२० अर्बको ‘काठमाण्डौ रि’ नामको नयाँ पुनर्बिमा कम्पनी आउँदै, कस्ले ल्याउँदैछन त ?

२० अर्बको ‘काठमाण्डौ रि’ नामको नयाँ पुनर्बिमा कम्पनी आउँदै, कस्ले ल्याउँदैछन त ?

फागुन ११,काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिमा कम्पनी दर्ता गर्ने तयारी थालिएको छ । समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्ययन गरेर आवश्यकता हेरी प्रतिस्पर्धात्मक बजारका लागि नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिन सक्ने संकेत गरेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित एउटा समूहले काठमाडौं रिइन्स्योरेन्स नामक नयाँ पुनर्बिमा कम्पनी दर्ता गर्ने गरेको हो ।

कम्पनीको अधिकृत पूँजी रु. २० अर्ब प्रस्ताव गरिएको छ । जारी पूँजी रु. १० अर्ब हुनेछ भने तत्काल ७ अर्ब रुपैयाँ पूँजी जुटाइनेछ । संस्थापक र सर्वसाधारण सेयर अनुपात ७०ः३० प्रतिशत रहने तथा ७० प्रतिशत संस्थापक सेयरमध्ये २० प्रतिशत विदेशी साझेदार वा पुनर्बिमा कम्पनीलाई दिने गरी नयाँ पुनर्बिमा कम्पनी दर्ता प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीमा नेपाल सरकारले १ अर्ब, जीवन र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब, बीमा कम्पनीका प्रवद्र्धकहरुले १ अर्ब, बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब व्यावसायिक घरानाले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ ।
कस्ले ल्याउँदैछन त ?
कम्पनीको सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति रहने गरी गृहकार्य गरिएको छ । कम्पनीको प्रारम्भिक योजनाकार तथा संस्थापकको रुपमा नेपाल बैंकका पूर्व सीइओ देवेन्द्रप्रताप शाह, नेपाल रिइन्स्योरेन्सका पूर्व अध्यक्ष तथा नेपाल चार्टर एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष महेश गुरागाई, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीइओ श्रीचन्द्र भट्ट रहेका छन् । यो कम्पनीको छोटकरीको नाम ‘काठमाण्डौ रि’ हुने प्रस्ताव गरिएको छ ।

यसअघि नै गैरआवसीय नेपाली र नेपालकै व्यावसायिक घरानासमेतका एक समूहले अन्नपूर्ण रि–इन्स्योरेन्स कम्पनी स्थापना गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छ । १० अर्ब लगानीमा स्थापना गर्ने भनिएको उक्त कम्पनीमा ७ अर्ब ५० करोड संस्थापक सेयर र २ अर्ब ५० करोडको सर्वसाधारण सेयर अर्थात संस्थापक र सर्वसाधारण सेयर संरचना ७५ः२५ प्रतिशत प्रस्ताव गरिएको छ । पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय बुझिन्छ ।