सेयर बजारमा २१ अंकको गिरावट, ८ अर्ब ५६ करोडको कारोबार

सेयर बजारमा २१ अंकको गिरावट,  ८ अर्ब ५६ करोडको कारोबार

फागुन ११, काठमाडौं ।
साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगे र बन्द भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ ।

मंगलबार २०५ वटा कम्पनीको १ करोड ७७ लाख १४ हजार कित्ता सेयर ८३ हजार ३५७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । व्यापार समूह २६.७३ अंकले बढ्नुबाहेक अन्य सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ९६ अंकले घटेको छ।

त्यस्तै बैंकिङ समूह ७.७२, होटेल समूह ३१.३८, विकास बैंक समूह ३०.२७, जलविद्युत समूह १२.४७, वित्त समूह ७.०१, निर्जीवन बिमा समूह ५२.०४, लघुवित्त समूह ६.३२, जीवन बिमा समूह २०.२ र अन्य समूह ५१.११ अंकले घटेको छ ।यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको रू. ७३ करोड ९४ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको छ ।