April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती

फागुन १६, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् । झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाउन चुनौती दिएका हुन् । उनले आफू फेरि दुई तिहाई लिएर आउने दाबी समेत गरे । ‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्, हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु ।’ ओलीले लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए ।

यस्तै उनले आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनले दाबी गरे । ‘विमानस्थलमा ओर्लेपछि सेक्युरिटीले कहाँ जाऊँ भन्दा साथीहरूले बूढानीलकण्ठ लागेछन्, नन्दी भृंगी जम्मा भएर सरकार बनाऔं भन्ने प्रस्तावमा पार्टीमा छलफल गर्नुपर्ने भनेपछि प्रस्ताव लिएकाहरू अँध्यारो मुख लगाएर फर्के,’ ओलीले भने, ‘अर्को ठाउँमा गएर सबै मिलेर जाऊँ भन्दा तपाईंहरू कुन पार्टीबाट आउनुभएको भनेपछि झस्याङ्ग भए नेताहरू ।’

प्रचण्ड र नेपालसँग जसपाले पार्टीको आधिकारिकताबारे प्रश्न गरेको थियो । ‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,’ ओलीले भने । ओलीले राजतन्त्रसँग लडेको आफू प्रचण्ड–नेपालसँग नडराउने बताए। ओलीले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा हारे पनि आफूलाई केही नहुने जिकिर गरे । उनले अदालतबाट मुद्दा जितेर प्रधानमन्त्री नभएको बताए ।