April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

ओली पक्षीय नेकपाको संसदीय दलको बैठक आज बस्दै

ओली पक्षीय नेकपाको संसदीय दलको बैठक आज बस्दै

फागुन २२, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने बारे छलफल हुने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले बताए ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भेटेरै बैठकमा आउन आग्रह गरेका छन् । पार्टी एकताको अभियानमा रहेका गौतमलाई प्रधानमन्त्रीले शुक्रबार बेलुकी भेटेर आजको संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय फागुन ११ गते सर्वोच्च अदालतले बदर गरेर १३ दिनभित्र संसद् वैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

त्यसको तयारीका लागि दलहरु छलफलमा व्यस्त छन् । केहीले संसदीय दलको बैठक बोलाएर छलफल गरेका छन् भने केही बोलाउने तयारीमा छन् । नेकपा (प्रचण्ड नेपाल) समूहले बिहीबार संसदीय दलको बैठक बोलाएको थियो। नेकपाका बहुमत सदस्य उपस्थित बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

यो समूहले आफ्नो पक्षमा १११ जना सांसद रहेको दाबी गरेको छ । प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ । त्यस्तै, बिहीबार नै नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकमा अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएका थिए ।