April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा झारिँदै, प्रधानमन्त्रीले अवलोकन गर्ने

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा झारिँदै, प्रधानमन्त्रीले अवलोकन गर्ने

फागुन २२, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आजबाट पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो । सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने भएको हो । पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ । मेलम्ची खानेपानी विकास समितिले आजसम्म १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले आज पानी सुन्दरीजल आइपुग्ने जनाईएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो ।

सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।

उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट दैनिक आठ करोड लिटर पानीमात्रै वितरण हुँदै आएको छ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गर्दै अहिले पुन पानी पठाइएको हो ।