April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

कोरोनाको असर राजस्वमाः ९ अर्ब ७२ करोडले घटेपछि अर्थमा नयाँ समिक्षा

कोरोनाको असर राजस्वमाः ९ अर्ब ७२ करोडले घटेपछि अर्थमा नयाँ समिक्षा

काठमाडौं । कोरोना संक्रमणको असरका कारण देशको मुख्य आयस्रोत राजस्व संकलनमा कमी आएको छ । चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको हो । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्यमा प्रभाव परेको विभागका सूचना अधिकारी अर्जुन ढकालले बताए । उनका अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा राजस्व संकलन गतवर्षको समीक्षा अवधिको तुलनामा ९ अर्ब ७२ करोडले घटेको छ । आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष यही अवधिमा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यद्यपि चालू वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा सरकारले आयकर, मूल्य अभिवृद्धिकरमार्फत ठूलो राजस्व उठाउन सकेको छ ।


आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा मुख्यतः १ खर्ब १२ अर्ब ४३ करोड रुपैयाँ आयकरबाटै राजस्व संकलन भएको छ भने, ६५ अर्ब १२ करोड रुपैयाँ मूल्य अभिवृद्धि करबाट राजस्व उठेको छ । त्यस्तै, ४३ अर्ब ५८ करोड रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलन भएको छ भने शिक्षा सेवा शुल्क तथा अन्यतर्फ २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ । कोभिड–१९ को प्रभावका कारण राजस्वमा कमी आउने आँकलनपछि अर्थमन्त्रालयले राजस्व बारे नयाँ चिराबाट समिक्षा समेत गरेको छ । आगामी आवको राजस्वको लक्ष्य तयार गर्नेबारे समेत समीक्षामा छलफल गरेको छ ।


सरकारले चालू आवमा राजस्व संकलनका लागि राखेको लक्ष्य पूरा हुन नसक्ने अर्धवार्षिक समीक्षामार्पmत जानकारी गराई सकिएको छ । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गरेको १ महीनापछि हालै आन्तरिक राजस्व विभागले चालू आवको हालसम्मको काम कारबाही र राजस्व संकलनको अवस्थाको समीक्षा गरेको छ । ठूला करदाता, मध्यमस्तरीय करदाता, ४३ ओटा आन्तरिक राजस्व कार्यालय र ३९ ओटा करदाता सेवा कार्यालयले अहिलेसम्म गरेका कामबारे समीक्षा गरिएको छ । यस्तो समिक्षामा समेत कम राजस्व संकलन हुने अनुमान गरिएको छ ।
कोभिड तथा समसामयिक हिसाबले पनि राजस्व नीति सुधार गर्नुपर्ने आवश्यकता रहेको र सुधारसम्बन्धी कार्यसूची निर्माण गर्नेबारे समेत समीक्षामा छलफल भएको विभागका अधिकारीहरूको भनाइ छ ।