April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

वामपन्थी आन्दोलनका चिन्तक प्रा माणिकलाल श्रेष्ठको निधन

वामपन्थी आन्दोलनका चिन्तक प्रा माणिकलाल श्रेष्ठको निधन

काठमाडौँ । नेपालको वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा माणिकलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको आज ८९ वर्षको उमेरमा उपचारको क्रममा नै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो ।
विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका–९ (हाल वडा नं १७) ठहिटीका वडाध्यक्षमा निर्वाचित भएका श्रेष्ठले मातृभाषाको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका खेलेका थिए । वामपन्थी आन्दोलनबारे मिहिनरुपमा अध्ययन गरेका श्रेष्ठ माक्र्सवादको राम्रो जानकार थिए ।

त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा कम्युनिष्ट भएकै कारण गिरफ्तारीमा परेर थुनिएसँगै उनलाई सेवाबाट बर्खास्त गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरेका श्रेष्ठ विज्ञान, कानून, इतिहास तथा मातृभाषाको अभियन्ताका रुपमा चिनिन्थे ।


उनकै पहलमा काठमाडौँ महानगरभित्रका स्थानीय तहमा मातृभाषा शिक्षा लागू गराइएको थियो । वामपन्थी आन्दोलनका लागेका कारण पटकपटक जेल जीवन एवं हिरासतमा समेत पारेका श्रेष्ठ निर्भिक बौद्धिक व्यक्तिको रुपमा चिनिएको उनका सहकर्मी बताउँछन् ।
नेपाल सम्वतको प्रचारप्रसार एवं त्यसलाई व्यावहारिक रुप दिन लामो समय सङ्घर्ष गर्नुभएका श्रेष्ठ वामपन्थी आन्दोलनका मात्रै नभई नेपाल भाषाका अभियन्ताका रुपमा परिचित छन् ।

सयौँ विचरोत्तेजक लेख तथा आलेखका लेखक श्रेष्ठको ‘पाश्चात्य समालोचना सिद्धान्त’ नामक पुस्तक प्रकाशित छ । माणिकलालको पत्नी सुशाीला सिंह ‘शिलु’ सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशसमेत थिइन् । उनको गत जेठ ९ गते निधन भएको थियो । उनका दुई छोरा छन् ।