April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

आठ महिनामा ७६ अर्बको खाद्यान्न र तरकारी आयात

आठ महिनामा ७६ अर्बको खाद्यान्न र तरकारी आयात

चैत ८, काठमाडौं ।
नेपालको आयात व्यापार उच्च दरमा बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो महिनादेखि नै तुलनात्मक रुपमा आयात कम देखिएकोमा माघ महिनादेखि व्यापार घट्दा आयात व्यापारको वृद्धिदर उकालो लागेको छ । माघ महिनामा करिब अघिल्लो वर्ष बरारबकै सामान आयात भएकोमा फागुन महिनासम्म अघिल्लो वर्षको तुलनामा २.४१ प्रतिशतले आयात बढेको छ । आयातको वृद्धिदर औद्योगिक कच्चा पदार्थभन्दा बढी खाद्यान्न र तरकारीमा भएको देखिएको छ । चालु वर्षको ८ महिनामा ७६ अर्बको खाद्यान्न र तरकारी आयात भएको छ । यस अवधिमा ५४ अर्ब रुपैयाँको खाद्यान्न र २२ अर्ब रुपैयाँको तरकारी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यस्तै ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । निर्यात पनि ७ प्रतिशतले बढेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार फागुन महिनासम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो व्यापार घाटा ८ खर्ब ४९ अर्ब रुपैयाँ थियो । गत वर्ष चैतपछि ५० प्रतिशतले व्यापारमा कमी आए पनि यो वर्ष भने व्यापार घाटा उच्च हुने देखिएको छ । नेपालमा सबैभन्दा बढी डिजेल आयात हुँदै आएको छ । जसमा चालु आवको पहिलो ८ महिनाको अवधिमा ४७ अर्ब ३९ करोड ५२ लाख बराबरको मात्रै डिजेल आयात गरेको छ । उक्त आयात गरेको डिजेलबाट सरकारले ३० अर्ब ४६ करो ९० हजार राजश्व संकलन गरेको छ । त्यसैगरी, नेपालले एमएस विलेट ४४ अर्ब २९ करोड ७९ लाख रुपैयाँको आयात गर्दा उक्त वस्तुबाट सरकारले ८ अर्ब १३ करोड ६५ लाख राजश्व गरेको छ । त्यस्तै, मोबाइल टेलिफोन २६ अर्ब ३० करोड ५४ लाखको, भटमासको तेल कच्चा २४ अर्ब ३०५४ लाख आयात गरेको छ ।

साथै, विभिन्न अन्य एलपी ग्यास पेट्रोल, अन्य कोइला, चामल, सुन र एच आर सेट उल्लेखनीय आयात भएको छ । कोरोना भाइरस महामारीले निर्यातमा निकै असर पारेको अवस्थामा पनि नेपालले गत वर्षको तुलनामा निर्यात बढाउन सफल भएको छ । चालु आवको ८ महिनाको अवधिमा ७ प्रतिशतले निर्यात गरेको छ । जसमा नेपालले चालु आवको ८ महिनको अवधिमा मुख्य १० निर्यात गरेकोमध्ये पहिलो प्रशोधित भटमासको तेल रहेको छ । नेपालले ८ महिनाको अवधिमा २३ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको १५ करोड १७ लाख ८ हजार केजी भटमासको तेल निर्यात गरेको छ ।

साथै, नेपालले अन्य मुख्य १० वस्तु तथा सेवा निर्यात गर्नेमा अलैंची, उनी गलैंचा कार्पेट, चिया, जुटले बुनिएका कपडा, तयारी कपडा, सेन्थेटिक यार्न, जमोठ कपडा, अन्य कपडा लगायत फलफुलको जुस रहेको छ । तेस्रो मुलुकबाट नेपाल आयात र नेपालबाट भारत निर्यात गर्ने परिपाटीले निर्यातमा केही सुधार देखिएपनि समग्रमा देशका उद्योगको उत्पादन थप कमजोर भएको देखिएको छ ।