April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

तराईमा सद्भाव र आत्मियता साटासाट गदै होली पर्व मनाइदै

तराईमा सद्भाव र आत्मियता साटासाट गदै होली पर्व मनाइदै


काठमाडौं । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । पहाडी क्षेत्रमा हिजो मनाइएको होली तराईमा भने आज मनाइदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर होली मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खुसीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली)को रौनक कम देखिएको छ । गत साल ठाउँ–ठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको छैन ।

तराईका विभिन्न क्षेत्रमा घुम्दा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ । विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृश्य र तस्विरमार्फत सार्वजनिक गरिरहेका छन् । सामाजिक सचेतनामूलक सन्देशसमेत सर्वसाधारणबाट जारी भएका पाइन्छ ।