April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको खाताको रकमलाई विकास निर्माणमा खर्च गरिने

बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको खाताको रकमलाई विकास निर्माणमा खर्च गरिने

चैत २५, काठमाडौं ।
सरकारले लामो समयदेखि बैंक तथा वित्तीय संस्थामा निष्क्रिय (डोरमेन्ट) रहेको खाताको रकमलाई विकास निर्माणमा खर्च गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा पछिल्ला २० औं वर्षदेखि निष्क्रिय खाताको निक्षेप रकमलाई विकास निर्माणमा खर्च गर्ने गरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने तयारी अघि बढाएको हो । बैंकमा २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुने रकमलाई व्यवस्थित गर्न कार्यविधि बनाउन लगिएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार उक्त निक्षेप रकमलाई के कसरी प्रयोगमा ल्याउने भन्नेबारे ठोस कार्यविधि जरुरी भएकाले केन्द्रीय बैंकको बैंकिङ विभागले के–कसरी गर्ने भन्नेबारे अहिले अध्ययन गरिरहेको छ । चालु आवमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपालका बैंकहरूमा रहेका निष्क्रिय खाताबारे चासो देखाएको राष्ट्र बैंक बैंकिङ विभागले बताएको छ । विभागका अनुसार प्रत्येक वर्ष अनुगमन गर्न नेपाल आउने गरेको आइएमएफले यस वर्ष कोभिडका कारण भर्चुअल छलफल गरेको र यसै क्रममा डोरमेन्टलाई व्यवस्थित गर्न सिफारिश गरेको थियो ।

आइएमएफले नेपालको बैंकहरूमा कति अवधिमा कारोबार नभएका निक्षेप खाता निष्क्रिय गर्ने गरेको र लामो अवधिको निष्क्रिय खाता कसरी व्यवस्थित भइरहेको छ भनेर सोधेको थियो । त्यसपछि २० वर्षे लामो अवधिका निष्क्रिय खाताबारे कार्यविधि बनाएर अघि बढ्ने योजना बनाएको विभागले जानकारी दिएको छ । गत माघ सम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्ने कुल संख्यामध्य करीब २१ प्रतिशत खाता निष्क्रिय रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्नेको संख्या करीब ३ करोड ३ लाख ५४ हजार रहेको छ । सो कुल संख्यामध्ये नियमित सञ्चालन तथा कारोबार नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या ६४ लाख ५१ हजार पुगेको छ । २ करोड ३९ लाख २ हजार खाता भने सक्रिय रुपमा नियमित सञ्चालनमा रहेका छन् ।