April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कोरोना जोखिम बढेसँगै रात्रिकालीन व्यवसायमा कडाइ, अन्य कुन क्षेत्रमा के भयो निर्णय ? (सूचीसहित)

कोरोना जोखिम बढेसँगै रात्रिकालीन व्यवसायमा कडाइ, अन्य कुन क्षेत्रमा के भयो निर्णय ?  (सूचीसहित)

सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दो जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा कडाइ गर्ने निर्णय गरेको जानकारी दिएको हो । सरकारले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।


यसैगरी ठूला सहरहरुमा ५ सयभन्दा बढी र साना सहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ । जोखिम बढेका ठूला सहरहरुमा सर्वजनिक यातायातमा यात्रा गर्दा वा भिडभाड हुने स्थानमा रहँदा आवश्यक स्वास्थ्य मापदण्ड लागू गराउने मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित निकालयलाई आग्रह गरेको छ ।