April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

प्रतिनिधिसभाको बैठकमा विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुँदै

प्रतिनिधिसभाको बैठकमा विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक पेस हुँदै

चैत २६, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दैछ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेस गर्ने तयारी छ । संसदको कार्यसूची अनुसार बैठकमा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले ‘सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

उक्त विवादित विधेयकको चौतर्फी विरोध भएको थियो । विपक्षी दलको विरोधका बाबजुद पनि गएको वर्षको पुस १३ गते संसदको विकास तथा प्रविधि समितिले सो विधेयक बहुमतका साथ पारित गरेको थियो । सत्तारूढ नेकपाका सांसदहरुको बहुमतले विधेयक पारित भएको हो । समितिले पारित गरेको करिब १५ महिनापछि सो विधेयक प्रतिवेदन संसदमा पेस हुने भएको हो । यसअघि २०७६ सालको पुस १३ गते बसेको विकास तथा प्रविधि समितिले कांग्रेसका सांसदको विरोधका बाबजुद विधेयकलाई बहुमतको आधारमा पारित गरिएको थियो ।

उक्त विधेयकको प्रतिवेदनमा कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच वर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुने कडा प्रावधान समावेश छ । यस्तै सामाजिक सञ्जाल पनि दर्ता गरेर चलाउनुपर्ने लगायतका कुराहरू पनि आएका छन् । विधेयक प्रतिवेदनको दफा ९१ मा सामाजिक सञ्जाल दर्ता गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम दर्ता गर्नुपर्ने उल्लेख छ । ‘दर्ता नभएको सामाजिक सञ्जालको प्रयोगमा नेपाल सरकारले रोक लगाउन सक्नेछ भनी’ उपदफा ३ मा उल्लेख छ ।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मधेशी आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस हुँदैछ । यी दुई प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पेस हुने सचिवालयले जनाएको छ ।