April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

आठ महिनामा १ अर्ब १७ करोडको माछा आयात

आठ महिनामा १ अर्ब १७ करोडको माछा आयात

चैत २६, काठमाडौं ।
नेपालमा वर्षेनि बढ्दो रूपमा माछाको आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो आठ महिनामा विभिन्न देशबाट १ अर्ब १७ करोड ४७ लाख ३४ हजार रुपैयाँ बराबरको माछा नेपाल भित्रिएको छ । आर्थिक वर्षको साउन देखि फागुन महिनासम्मको अवधिमा उक्त रकम बराबरको कुल ५३ करोड ९७ लाख ३८ केजी माछा नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले प्रकाशन गर्ने तथ्याङ्कका आधारमा नेपालमा जीवित माछा, ताजा वा चिसो पारेर ल्याइएका माछा, बरफमा राखेर ल्याइएका माछा र चिसो पारेर मसिनो टुक्रा पारी वा नटुक्याई ल्याइएका माछा आयात हुने गरेका छन् ।

उक्त अवधिमा जिउँदो माछा मात्र विदेशबाट २ करोड ६९ लाख १८ हजार रुपैयाँको नेपालले आयात गरिएको छ । नेपालमा छिमेकी मुलुक भारत सहित भियतनाम, थाइल्याण्ड र बंगलादेश सम्मको माछा आयात हुने गरेको छ । नेपाल माछा व्यवसायी महासंघका अनुसार नेपालमा उत्पादित माछाले मुल मागको करिब ४५ प्रतिशत मात्र धानेको छ । माछा व्याबसायमा करिब १ लाख २० हजार भन्दा बढि व्यक्ति प्रत्यक्ष संलग्न रहेको र करिव २ लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ । विशेषगरी कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, राहु, रेन्बो ट्राउट, नैनी, भाकुर लगायतका गरी ८ आठ किसिमका माछा नेपालमा पाइन्छ ।

नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत माछा पकेट क्षेत्रका रुपमा बारा, धनुषा र रुपन्देहीलाई सुपर जोनको रुपमा घोषणा गरेको छ । त्यहाँ उत्पादित माछा विक्रिका लागि स्थानिय बजार लगायत काठमाडौं, पोखरा, विराटनगर,घनगढी लगायतका ठाँउमा हुने गरेको छ । नुवाकोटमा व्यवसायीकरुपमा खेति हुदैं आएको रेन्बो ट्राउट माछाको राम्रो वजार भाउ भएतापनि बढी लागत खर्च, बजारीकरण जस्ता कारणले यसले व्यापकता भने पाउन सकेको छैन । त्यस्तै माछाका लागि आवश्यक दाना समेत भारतवाट आयात गर्ने गरिएको छ । सरकारले तयारी दानामा ५ प्रतिशत र मेट्रियलमा १ प्रतिशत कर लगाएको छ ।