April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टले पठायो पत्र

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टले पठायो पत्र

चैत २६, काठमाडौं ।
सम्झौता पूरा भएको नौ महिना बितिसक्दा पनि भवन खाली नगर्ने कन्सेप्ट डेभलपर्स प्रालीलाई नेपाल ट्रष्टको कार्यालयले अन्तिम चेतावनी दिएको छ । ट्रष्टले चैत ३१ सम्म खाली नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । महानगरपालिका–२८ कमलादीस्थित भवन खाली गर्न पटकपटक पत्राचार गर्दा पनि अटेर गरेकाले अन्तिम पटक सूचना प्रकाशित गरिएको ट्रस्टले जनाएको छ । कन्सेप्ट डेभलपर्ससँगको लिज भाडामा लिने सम्झौता २०७७ असार २ गते नै सकिएको छ ।

यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको १० महिनाको अवधिमा करिब साढे ६ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ । कोभिड–१९ को महामारीको समयमा आफूले सम्झौता नविकरण गर्न पाउनुपर्ने भन्दै कन्सेप्ट डेभलपर्स प्रालीले सर्वोच्च अदालत गुहारेको थियो । सुरुवातमा अन्तरिम आदेश दिएको अदालतले आफ्नो आदेश खारेज ग¥यो । तर, कन्सेप्ट डेभलपर्सले खाली गर्न अटेरी गर्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले महानगरलाई मासिक ६० लाख रुपैयाँ भाडामा तेस्रो पक्षलाई भाडामा लगाउन नदिने गरी उक्त भवन भाडामा दिन निर्णय गरिसकेको छ । २०५० साल असार ३ गते तत्कालीन दरबारका तर्फबाट राजकीय सम्पति कोष विभागका तत्कालिन सह–सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा–७ चावहिलका सुवासराज काफ्लेबीच वडा–३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।

कन्सेप्ट डेभलपर्स प्रालिमा हस्तान्तरण भएपछि पुनः २०६६ पुस २३ गते नेपाल ट्रष्ट ऐन, २०६४ बमोजिम सो करारनामामा उल्लेखित जग्गा र त्यहाँ निर्माण भएको भवनको स्वामित्व नेपाल ट्रष्टमा हस्तान्तरण भएको हुँदा २०५० साल असार २ को करारनामाको अधिनमा रही पुनः करारनामा भएको थियो । त्यतिबेला सो जग्गा पूर्व राजपरिवारको भएकाले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको थियो । २०६६ पुस २३ गते नेपाल ट्रष्टको कार्यालयका तर्फबाट तत्कालीन उपसचिव टिकाराम घिमिरे र कन्सेप्ट डेभलपर्स प्रालिका तर्फबाट प्रवन्ध सञ्चालक सुनिलभक्त श्रेष्ठबीच सम्झौता पनि भएको थियो । सो सम्झौताको अवधि २०७७ असार २ सम्म थियो ।