May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, उपत्यकामा अहिलेसम्मकै बढी

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, उपत्यकामा अहिलेसम्मकै बढी

चैत २९, काठमाडौं ।
काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ पुगेको हो । यो अहिलेसम्मकै बढी मूल्य भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि कुखुराको मासुको मूल्य संघले चार सय रुपैयाँसम्म तोकेको संघले जनाएको छ । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो । मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ ।

तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको मासु व्यवसायीको भनाई रहेको छ । कोरोना पछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै बढी भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । जिउँदो कुखुराको मूल्य २९० पुगेको छ । यसअघि २७० रुपैयाँमा कारोबार हुँदै आएको थियो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ । त्यस्तै देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ ।

गत लकडाउनको समयमा ह्याचरी संघले ठूलो परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन । त्यति बेला प्यारेन्ट कुखुराको आयात भइसकेकोले उत्पादनसँगै बजारमा आपूर्ति सहज थियो । कोभिड पछि प्यारेन्ट कुखुराको आयात रोकिएयता उत्पादन बढ्न सकेको छैन । एक बर्षदेखि प्यारेन्ट आयात नहुँदा र हाल उत्पादन भएका कुखुराहरु रोगका कारण मर्न थालेपछि मूल्य लगातार बढ्न थालेको हो । अहिले आयात भएको प्यारेन्टबाट अण्डा र नयाँ चल्ला उत्पादन हुन करिब ८ महिनासम्म लाग्ने भएकोले मासुको मूल्य बढ्दै जाने संघले जनाएको छ ।