May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस


कोरोनाको संक्रमण दर पुनः बृद्धि हुनथालेसँगै सरकारले नयाँ रणनीति बनाउन थालेको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै गर्दा सरकार नयाँ रणनीतिमा देखिएको हो । यसैलाई मध्यनजर गर्दे शनिवार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण बढदै जाँदा शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

विभिन्न विद्यालयमा विद्यार्थीहरु संक्रमित हुने क्रम बढेपछि सीसीएमसीले कोरोना नियान्त्रणको लागि बन्दको सिफारिस गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ । यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने तयारी गरेको छ ।

बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव पेश भएको छ भने त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृतमा पठाउँने तयारी गरेको छ । सीसीएमसीले गरेको सिफारिस भने अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।

त्यस्तै, कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो ।