June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कर भुक्तानी तथा विवरण बुझाउनुपर्ने समयावधि थप्न महासंघको माग

कर भुक्तानी तथा विवरण बुझाउनुपर्ने समयावधि थप्न  महासंघको माग


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायिक कर तथा राजस्वको भुक्तानी तथा विवरण बुझाउनुपर्ने समयावधि थपिदिन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा (लकडाउन) मा रहेको अवस्थामा व्यापार व्यवसाय प्रायः ठप्प अवस्थामा भएकाले गर्दा कर तथा राजस्व तिर्ने समयावधि थपिदिन माग गरेको हो ।


महासंघले सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न माग गरेको हो । कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यपार, व्यवसाय र सवारी आवागमन बन्द भएका बेला उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्नुपर्ने माग महासंघको छ ।


सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्णरूपमा संचालनमा आउन सकेका छैनन । अघिल्लो वर्षमा भएको लामो लकडाउनपछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा पुगेको र उद्योगी ब्यावसायी घाटा ब्याहोर्न बाध्य भएकोले थप त्यस तर्फ समेत ध्यान दिन महासंघले भनेको छ । साथै, महासंघले सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारलगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने अवस्थाको मनान गर्दे नीतिगत सुधान गर्न आग्रह गरेको छ ।