June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

‘सांसदलाई छलेर अध्यादेश मार्फत शासन चलाउन सरकारको कार्यशैली घोर आपत्तिजनक’- सभापति देउवा

‘सांसदलाई छलेर अध्यादेश मार्फत शासन चलाउन सरकारको कार्यशैली घोर आपत्तिजनक’- सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् । सरकारले एकैपटक सात अध्यादेश ल्याएपछि काग्रेशको तर्फबाट प्रेस वक्तव्य जारी गरी सभापति देउवाले विरोध जनाएका हुन् । देउवाले आज प्रेस वक्तव्य जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा धमाधम अध्यादेश जारी गरिनु आपत्तिजनक रहेको बताएका हुन् । उनले विज्ञप्तिमा भनेका छन ,’ संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा सांसदलाई छलेर अध्यादेश मार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ ।’


राष्ट्रपति विद्यादेवी भण्डारीले पहिले जारी गरेको तर सांसदबाट पास नभएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधनसहितका विभिन्न ७ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।