June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

एमाले स्थायी कमिटी बैठकले गर्‍यो यस्ता चार निर्णय

एमाले स्थायी कमिटी बैठकले गर्‍यो यस्ता चार निर्णय

वैशाख ३०, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज बालुवाटारमा बसेका स्थायी कमिटीको बैठकले ४ निर्णय गरेको छ । बैठकले नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको हो । बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरिएको हो ।

बैठकले केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईको कोभिड संक्रमणका कारण भएको निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । त्यस्तै बैठले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा ओलीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएका थिए । बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।