June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन,कुन मन्त्रालयमा कुन मन्त्री ?

वैशाख ३१, काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । यसका अलावा रामबहादुर थापा गृह, टोपबहादुर रायमाझी ऊर्जा, विष्णु पौडेल अर्थ, प्रदीप ज्ञवाली परराष्ट्र, हृदयेश त्रिपाठी स्वास्थ्य, लेखराज भट्ट उद्योग र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रीमा दोहोरिएका छन् ।

यसैगरी प्रभु साह शहरी विकास, भानुभक्त ढकाल पर्यटन, मणि थापा खानेपानी, पद्मा अर्याल कृषि, वसन्त नेम्वाङ भौतिक पूर्वाधार, गौरीशंकर चौधरी श्रम, पार्वत गुरुङ सञ्चार, शिवमाया तुम्बाहाङ्फे भूमि व्यवस्था, लीलानाथ श्रेष्ठ कानून, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेम आले वन तथा वातावरण, जुली महतो महिला बालबालिका र दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री बनेका छन् । नवराज रावत स्वास्थ्य राज्यमन्त्री, रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री र विमला विक उद्योग राज्य मन्त्रीमा दोहोरिएका छन् ।