काठमाडौं । राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान छुटाउन ताकेता गर्ने सरकारले बाटोमा निषेधाज्ञाको कारण देखाइ रोक्ने गरेका कारण उद्यमी व्यवसायी आजित भएका छन् ।
कर उठाउनका लागि भन्सार खोल्ने र बीच बाटोमा पुगेपछि ट्रकलाई रोकेर अलपत्र पार्ने सरकारी प्रवृतिका कारण व्यवसायी आजित भएका हुन् ।
‘एकातिर सरकारले उद्योग कलकारखानाको कच्चा पदार्थ आयातमा नरोक्ने भन्छ अर्कोतिर रोकेर अलपत्र पार्छ,’ एक व्यवसायीले भने । भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएका उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी वस्तु निषेधाज्ञाका कारण गन्तव्यमा पु(याउन नसक्दा लामो समयदेखि बाटोमै अलपत्र परेको र ढुवानी भाडा दिन प्रतिदिन बेहोर्न बाध्य भएको पनि उनले बताए ।
नेपाल चेम्बर अफ कमर्स भन्सार समितिका सभापति निरज राईले भने, ‘लकडाउनको अवधिमा भन्सार नाकाबाट छुटेका २ सयभन्दा बढी ट्रक काठमाडौं छिर्ने मुख्य नाका नागढुंगादेखि उता बाटोमा त्यसै राखिराख्नु परेको छ ।
उनले दुःखेसो पोख्दै भने, ‘भन्सार विभागले भन्सार बिन्दुमा सामान आइपुग्नेबित्तिकै छुटाउन ताकेका गर्छ तर नेपाल भित्रका विभिन्न नाका नाकामा प्रहरीले निषेधाज्ञा भन्दै रोकिदिन्छ । ’ उनले सरकारी निकायबीच आन्तरिक कोर्डिनेसन नहुँदा पछिल्लो समय उद्योग व्यवसायीले मालसामान आयात गर्दा दुःख पाइरहेको समेत जानकारी दिए । भन्सार प्रशासनले उद्योग कलकारखानामा पु(याउनका लागि भन्सार बिन्दुबाट छुटाइदिएको मालसामानलाई सहज रूपमा गन्तव्यमा पुग्न दिनुपर्नेसमेत उनको भनाइ छ ।
‘यदि भन्सार प्रशासनले लकडाउन वा निषेधाज्ञामा कुनै पनि मालसामान आयात गर्न नमिल्ने भनिदिएको भए उद्योगी व्यवसायीले ठूलो रकम खर्च गरेर एलसी वा टीटी लगाउने थिएनन्,’ उनले भने, ‘राज्यको एउटा निकायले आयात गर्न दिने तर अर्को निकायले सो गन्तव्यमा पुग्न नदिई बाटोमै रोकिदिँदा उद्योगी व्यवसायीको मालसामान बिग्रनुका साथै सोहीअनुरूप डिटेन्सन चार्जसमेत बढेको छ ।’
उनी भन्छन्, ‘उद्योगी व्यवसायीको मालसामान बाटोमा रोक्नुभन्दा भन्सार बिन्दुबाटै अहिलेको अवस्थामा कुनकुन सामान आयात गर्न पाउने कुन नपाउने भनेर तोकिदिनुपर्छ ।’
राज्यले अहिलेको अवस्थामा कुन सामान उद्योगी व्यवसायीले आयात गरेर सहज रूपमा आफ्नो उद्योग कलकारखानासम्म पु(याउन पाउँछन् कुनकुन पाउँदैनन् भनेर तोकिदिएमा व्यवसायीको ठूलो रकम अनावश्यक रूपमा खर्च हुनबाट जोगिने थियो,’ उनले भने, ‘राजस्व आउँछ भनेर भन्सार बिन्दुबाट छुटाइदिने तर बीच बाटोमा रोकिदिँदा व्यवसायीले ठूलो घाटा बेहोर्नुपरेको छ ।’
वर्षातको समयमा बीच बाटोमा मालसामान बोकेको ट्रक रोकिँदा पहिरोको पनि उत्तिकै डर भएको सम्बद्ध व्यवसायी बताउँछन् । लाखौं मूल्यबराबरका सामान प्रहरीले गन्तव्यमा पु(याउन नदिई बाटोमै राकिदिँदा उद्योगी व्यवसायीलाई थप पीडा भएको एक व्यवसायीले जानकारी दिए । लामो समयसम्म मालसामान बोकेका ट्रकका चालक तथा सहचालक बाटोमै रोकिनुपर्दा उनीहरूमा कोरोना संक्रमणको जोखिमसमेत बढेको सम्बद्ध व्यवसायी बताउँछन् । ‘अहिले विभिन्न नाकामा गरेर ३ सयभन्दा बढी मालसामान बोकेका ट्रक रोकिँदा चालक र सहचालक गरी ६ सयभन्दा बढी व्यक्ति बाटोमै अलपत्र छन्,’ एक व्यवसायीले भने, ‘उनीहरू निषेधाज्ञाका कारण एकातर्फ भोकभोकै बस्नुपरेको छ भने अर्कोतर्फ धेरै मानिस एकै ठाउँमा रोकिँदा कोरोना संक्रमणको त्रास पनि उत्तिकै भएको राजधानी दैनिकमा समाचार छ ।


