मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका लागि सरकारले १७ वर्षपछि नयाँ ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको छ । सन् २००८ मा जारी गरिएको ‘पर्यटन नीति २०६५’ लाई प्रतिस्थापन गर्दै ल्याइएको यो नयाँ नीतिले नेपाललाई एक अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने दीर्घकालीन सोच राखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्ने गरी नयाँ नीति ल्याइएको जानकारी दिए । उनका अनुसार, परिवर्तित शासकीय व्यवस्था र पर्यटनसम्बन्धी विषय तीनै तहका सरकारको अधिकार क्षेत्रमा रहेकाले पुरानो नीतिलाई समयसापेक्ष बनाउन आवश्यक थियो ।
नयाँ नीतिमा राष्ट्रिय पर्यटन परिषद्को गठन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, पर्यटन प्रवर्धनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग लगायतका महत्वाकांक्षी योजनाहरू अगाडि सारिएका छन् । राष्ट्रिय योजना आयोगले २०७७ सालमा सार्वजनिक गरेको पर्यटन नीति पुनरवलोकन अध्ययन प्रतिवेदन अनुसार पर्यटन नीति २०६५ ले निर्धारण गरेका १६ वटा नीतिमध्ये दुई वटा नीति पूरा कार्यान्वयन भएका छन् भने तीन वटा नीति ६० देखि ६५ प्रतिशत कार्यान्वयन भएका, छ वटा नीति ३० देखि ४५ प्रतिशत कार्यान्वयन भएका, चार वटा नीति २७ प्रतिशतभन्दा कम कार्यान्वयन भएका र एक वटा नीतिको कार्यान्वयन शून्य रहेको रहेको छ । नयाँ नीतिमा ६ वटा नीति, १८ वटा रणनीति र ९४ वटा कार्यनीति समावेश छन् ।
नीतिको संरचनात्मक र रणनीतिक खाका
पर्यटकीय वस्तुको विविधीकरणः नयाँ पर्यटकीय उत्पादन र गन्तव्यहरूको पहिचान, विकास र प्रवद्र्धन गर्ने ।
सार्वजनिक–निजी साझेदारीः पर्यटन पूर्वाधार विकास र प्रवर्धनमा निजी क्षेत्रको भूमिका बढाउन सार्वजनिक–निजी साझेदारीमा जोड दिइएको छ।
पूर्वाधार विकासः गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको निर्माण गर्ने ।
दिगो पर्यटनः दिगो र उत्थानशील पर्यटनको विकास गर्ने, जसले वातावरणीय र सामाजिक पक्षलाई ध्यान दिनेछ ।
शासकीय सुधारः पर्यटन क्षेत्रमा शासकीय दक्षता र सुशासन अभिवृद्धि गर्ने ।
रोजगारी सिर्जनाः पर्यटनमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी समावेशी आर्थिक विकासमा योगदान पु¥याउने ।
विमानस्थल विकासः विमानस्थल निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ। राजधानीबाहिरका सम्भावित विमानस्थलहरूलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरी हवाई सञ्जालको विस्तार गर्ने योजना छ।
अद्वितीय गन्तव्यका रूपमा नेपालः नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
अन्तर्राष्ट्रिय सहकार्यः नेपालको पर्यटन प्रवर्धनका लागि विदेशस्थित कूटनीतिक नियोग र गैरआवासीय नेपाली आबद्ध संघसंस्थासँग सहकार्य गर्ने उल्लेख छ ।
पर्यटकीय वस्तुको विविधीकरणः उदीयमान एवं विद्यमान पर्यटकीय वस्तु तथा गन्तव्यहरूको पहिचान, विकास, विस्तार र विविधीकरण गर्दै देशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने र आर्थिक समृद्धिको आधारशिला तयार गर्ने लक्ष्य नीतिले लिएको छ ।
एआई प्रयोग र तथ्याङ्क व्यवस्थापनः उपयुक्त प्रविधि र माध्यमको उपयोग गरी एआई भिडियोमार्फत पर्यटकीय प्रचारप्रसार र प्रवर्धनात्मक गतिविधि सञ्चालन गरिनेछ। पर्यटनसँग सम्बन्धित समग्र तथ्याङ्क संकलन र विश्लेषण गर्नका लागि टुरिजम स्याटेलाइट अकाउन्ट तयार गर्ने नयाँ व्यवस्था गरिएको छ ।


