मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्यांकनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार अकारादि क्रममा छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास उक्त सूचीमा समावेश भएका छन् । त्यस्तै, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एक आधार मानिन्छ ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य, सामाजिक शास्त्र र विज्ञान विधाका तीन कृतिलाई मदन पुरस्कार प्रदान गरेको थियो । त्यसयता पुरस्कार नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ ।
गुठीले पहिलोपटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।


