सिद्धार्थ बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी एक व्यावसायिक सम्झौता भएको छ। यस सहकार्यपश्चात् सिद्धार्थ बैंकका ग्राहकहरूले पोखरा भ्रमणका क्रममा उक्त रिसोर्टमा उपलब्ध हुने सेवाहरू उपयोग गर्दा विशेष सहुलियत प्राप्त गर्न सक्नेछन्।
सम्झौता अनुसार बर पीपल रिसोर्टमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, बैंकको नारी डेबिट कार्ड तथा प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूका लागि १५ प्रतिशतसम्मको छुट सुविधा निर्धारण गरिएको छ।
आफ्ना ग्राहकहरूलाई थप सुविधा र सहुलियत दिने उद्देश्यले गरिएको यस सम्झौताले नगद कारोबारको विकल्पमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ। आधुनिक बैंकिङ सेवालाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गराउन सिद्धार्थ बैंकले यस्ता विभिन्न व्यावसायिक संस्थाहरूसँग निरन्तर सहकार्य गर्दै आएको छ।


