राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा तथा सरकारी सेवा सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार भट्टराईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो। भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भन्दै उनले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार भट्टराईले २०५५ वैशाख ८ गते उक्त प्रमाणपत्र विभागमा पेस गरेका थिए। प्रमाणपत्र जारी गर्ने सम्बन्धित निकायबाट प्रमाणीकरण गराउँदा उनको नाम र कुल प्राप्ताङ्क त्यहाँको आधिकारिक अभिलेखसँग मेल नखाएको पाइएको आयोगले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा उनले सरकारी सेवामा प्रवेशदेखि उच्च पदसम्म बढुवा पाएको अख्तियारको दाबी छ। भट्टराईले २०५६ जेठ १० गते सहायक निरीक्षक पदबाट सेवा सुरु गरेका थिए। त्यसपछि २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक र २०७१ माघ ५ गते अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।
त्यस्तै, २०७५ फागुन १३ गते उनी प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए। अख्तियारका अनुसार शैक्षिक योग्यताको झुट्टा विवरण पेस गरेर उनले विभिन्न पदमा बढुवा हुनुका साथै सोही आधारमा प्राप्त हुने सरकारी सेवा तथा सुविधासमेत उपभोग गरेका थिए।
अनुसन्धानका क्रममा शैक्षिक प्रमाणपत्रको आधिकारिकता पुष्टि हुन नसकेको र प्रमाणपत्रमा उल्लेख भएका विवरण सम्बन्धित शैक्षिक संस्थाको अभिलेखसँग फरक देखिएको आयोगको निष्कर्ष छ।
अख्तियारले भट्टराईमाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कारबाही गर्न मागदाबी गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।


