April 21, 2025, Monday
[nepali_today_date]

मलमा पनि राजनीति, धान पाक्दा सम्म आएन मल

मलमा पनि राजनीति, धान पाक्दा सम्म आएन मल

सरकारको उदासिनताको कारण विगत झै यस वर्ष पनि किसानहरुले समयमा मल पाउन सकेका छैनन् । देश भर युरिया मलको आवश्यकता छ तर नेपालमा रसायनिक मल मगाउने दुई वटा निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडको गोदामहरुमा एक बोरा पनि युरिया मल छैन ।
कृषि सामग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय वीरगंजको गोदाममा जम्मा ४ सय टन जति डिएपी मल रहेको र युरिया मल हाल स्टक नभएकाले सस्या आएको हो ।
गत आर्थिक वर्षकै टेण्डर अनुसार अहिले मल आउने क्रम जारी रहेको र चालू आवको लागि हुने टेण्डर प्रकृया पनि पाइपलाइनमा रहेको छ ।
किसानहरुलाई धान बालीमा आवश्यक पर्ने रसायनिक युरिया मलको चरम अभाव भईरहेको बेला कृषि सामग्री कम्पनीले २५ हजार मेट्रिक टन डिएपी मल भित्र्याएको छ । यसैगरी ३० हजार मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाह आई पुगेको छ । तर त्यो कहिले नेपाल आउने सो बारेमा समय निश्चित छैन ।

Advertisement

कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख गोविन्द पराजुलीका अनुसार साउन–भदौमा आपूर्ति गरिएको १० हजार युरिया मल वीरगंज जनकपुर, हेटौंडा, त्रिशुली, कावासोती, भरतपुर, धुलिखेल, काठमाडौं, गजुरी, कलैया, सर्लाही, चन्द्रपुर, सिन्धुली, दमौली लगायतका स्थानमा पठाई सकिएको छ ।

Advertisement

त्यसैगरी कृषि सामग्री कम्पनीले आयात गरेको २५ हजार मेट्रिकटन डिएपी मलमध्ये ९ हजार मेट्रिक टन भैरहवा र ६ हजार मेट्रिक टन विराटनगर पठाईएको समेत पराजुलीले बताए ।

धान पसाउने बेला अर्थात १५ दिन भित्र थप ३० हजार टन युरिया कोलकाताबाट भित्रेपछि केही मात्रामा मलको आपूर्ति सहज हुने उनको दावी छ ।

३० हजार टनमध्ये वीरगंजका लागि १३ हजार टन, भैरहवाका लागि १० हजार टन र विराटनगरका लागि ७ हजार टन मल पठाइने छ ।

भैरहवा र विराटनगरको मल सडक मार्ग हुँदै ट्रकबाट हिडेको र वीरगंजमा आउने मल रेल मार्फत आउने हुँदा रेल्वे र्याक नपभाएर केही साता ढिलाई भएको उनले बताए। पोटास मल भने कृषि सामग्री कम्पनीसित स्टक रहेकोले यसको समस्या नरहेको क्षेत्रीय प्रबन्धक पराजुलीको दावी छ ।

यता,साल्ट ट्रेडिङ लिमिटेडका क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेले नेपालमा गरिने आपूर्तिको ७२ प्रतिशत कृषि सामग्री कम्पनीले र २८ प्रतिशत साल्ट टेडिङले गर्नेै बताए ।

उनले गत आवको कोटाबाट गत साउन र भदौमा करिब २१ सय ५० टन मल मगाएर वितरण गरेको बताए । जसमा ६० प्रतिशत युरिया,३९ प्रतिशत डिएपी र १ प्रतिशत पोटास थिए ।चालू आवको लागि टेण्डर प्रकृयामा रहेको उनले जानकारी दिए।

मलको दर रेटमा सहकारीहरुको हालीमुहाली

कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीले सहकारी संस्था मार्फत रसायनिक मल बेच्ने गरेका छन् । तर सहकारीहरुले किसानसंग चर्को मूल्य लिएर किसानलाई ठग्ने गरेको किसानहरुको गुनासो छ । मलको अभाव देखाई सहकारीले ७ सय मा किनेको ५० किलोको एक बोरा युरिया १ हजार सम्म र २१ सय ५० मा किनेको एक बोरा डिएपी ३ हजार सम्म र १५ सय ५० मा किनेको एक बोरा पोटास २ हजार सम्ममा सर्व सधारण किसानलाई बेच्ने गरेको पर्सा,पोखरीयाका किसान सरोज चौरसियाले बताए ।

उनले किसानले सहकारीमा मलको लागि जाँदा मल छैन,त्यसपछि बढि पैसामा आफुहरुले किनेर ल्याएकोले महंगोमा बेच्नु पर्ने भएकोले किसानलाई झुक्याउने गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुखले ढुवानीको अधारमा बढीमा खरिद गरेको भान्दा २ सय भान्दा बढिमा मल बेचेको पाए सहकारीलाई कारवाही गर्ने चेतावनी दिए ।पर्सामा मात्रै ९० वटा सहकारी मार्फत रसायनिक मल बिक्री वितरण हुँदै आएको छ ।

किन हुन्छ मलको अभाव

कृषि सामग्री कम्पनीका एक उच्च अधिकारीका अनुसार नेपालमा युरिया,डिएपी,पोटास गरी करिब ७ लाख टन मलको आवश्यकता देखिन्छ ।

तर सरकारको सीमित स्रोत साधन र बजेटले गर्दाै बर्षेैनी अढाई देखि तीन लाख टन सम्म मात्र सरकारले रसायनिक मल आयात गर्छ ।

यसले गर्दा माग बमोजिमको आपूर्ति गर्नै नसकिएको उनको कथन छ । साथै, पहिले भन्दा भारतीय सीमामा पनि कडाई गरेपछि भारतबाट भित्रने मल समयमा नआएर हाहाकारको अवस्था सृजना भएको हो ।